राप्रपाले महाधिवेशनको तालिका बदल्यो, सक्रिय सदस्यको नामावली कात्तिक ३० मा निस्कने

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले संशोधित तालिका सार्वजनिक गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रकाशित नामावलीमा मंसिर १ गतेसम्म दाबी–विरोध गर्न र नाम सच्याउन सकिनेछ।
मंसिर ४ देखि १० गतेसम्म विधान र निर्वाचन निर्देशिकाअनुसार योग्य प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। छानिएका प्रतिनिधिको फोटोसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्नेछ। नयाँ सक्रिय सदस्यको विवरण प्रविष्ट गर्ने काम भने बुधबार रातिदेखि बन्द भइसकेको छ।
विवरण दर्ता भइसकेका सदस्यले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्नेछ। सदस्यता विवरणमा तस्बिर छुटेको भए त्यो पनि सोही म्यादभित्र पेस गर्नुपर्नेछ। म्यादभित्र यी सर्त पूरा नगर्नेको सक्रिय सदस्यताको आवेदन अस्वीकृत हुने समितिले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


