२० कात्तिक २०८३ English
English

महँगी र कम ज्यालाविरुद्ध फ्रान्सभर आमहडताल र प्रदर्शन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महँगी र कम ज्यालाविरुद्ध फ्रान्सभर आमहडताल र प्रदर्शन

YouTube मा सब्स्क्राइब

बढ्दो महँगी, कम ज्याला र सार्वजनिक सेवामा लगानी कटौतीको विरोधमा फ्रान्सभर बिहीबार आमहडताल र ठूला प्रदर्शन भएका छन्। फ्रान्सको गृह मन्त्रालयका अनुसार झन्डै २०० स्थानमा भएका प्रदर्शनमा पेरिसबाहेक मात्रै करिब २ लाख ७० हजारभन्दा बढी मानिस सहभागी भएका छन्। लियोँ र नान्त सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

लियोँमा प्रहरीले अश्रुग्यास प्रहार गरेको र एउटा कारमा आगजनी भएको जनाइएको छ। हडतालका कारण यातायात, शिक्षा र स्वास्थ्यलगायत सार्वजनिक सेवा प्रभावित भएका छन्। तोकिएका रेल सेवामध्ये करिब ४० प्रतिशत रद्द भएका छन् भने पर्यटकको प्रमुख आकर्षण एफिल टावर पनि बन्द गरिएको छ।

प्रमुख ट्रेड युनियनहरूको संयुक्त मोर्चा लाँतेरसिन्डिकालले आयोजना गरेको हडतालमा न्यूनतम ज्याला तत्काल बढाउन र पेन्सन सुविधा सुधार्न माग गरिएको छ। सबैभन्दा ठूलो श्रमिक सङ्गठन सीजीटीले न्यूनतम ज्याला करिब १० प्रतिशत तत्काल बढाउन माग गरेको छ। अर्को प्रमुख सङ्गठन सीएफडीटीले मासिक न्यूनतम ज्यालामा करिब १०० युरो थप्नुपर्ने माग गरेको छ।

सरकारले नोभेम्बर १ देखि लागू गरेको वृद्धिले मासिक आम्दानीमा करिब १५ युरो मात्र थपिने भन्दै युनियनहरूले असन्तुष्टि जनाएका छन्। सन् २०१८ मा सुरु भएको येलो भेस्ट आन्दोलनले पनि प्रदर्शनमा भाग लिँदै राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उहाँको सरकारको राजीनामा माग गरेको छ।

स्रोत

सम्बन्धित समाचार