भारतीय विदेश सचिव मिस्रीको प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेसँग भेट

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा मिस्रीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्।
मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए। प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासमा नेपाल र भारतबीच कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा चासो राखेका थिए।
भारतीय विदेश सचिव मिस्रीले सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गरेका छन्। रास्वपाका अनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
रास्वपा सचिवालयका अनुसार भेटमा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको चर्चा गर्दै नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको बताएका थिए। रास्वपाका प्रवक्ता जगदीश खरेलले भेटबारे जानकारी दिएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


