तिहारमा २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, दक्षिणा दिन बाध्य पार्न नपाइने

गृह मन्त्रालयले तिहारमा परम्परागत देउसी–भैलो चौबिसै घण्टा खेल्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सोमबार भएको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले सबै जिल्लामा परिपत्र पठाएको हो। मन्त्रालयका शाखा अधिकृत आनन्द न्यौपानेद्वारा जारी पत्रमा देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन नपाइने उल्लेख छ।
रातिको समयसीमा हटाइए पनि कार्यक्रम मर्यादित र अनुशासित हुनुपर्ने मन्त्रालयले जनाएको छ। कुनै जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायविरुद्ध घृणा फैलाउने अश्लील गीत, नाच वा नारा प्रयोग गर्न नदिन प्रशासनलाई भनिएको छ। चाडका नाममा जुवातास खेल्ने, सार्वजनिक ठाउँमा मदिरा पिएर होहल्ला गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ।
अत्यधिक आवाजमा साउन्ड सिस्टम नबजाउन तथा अस्पताल र वृद्धाश्रम नजिक विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न र वातावरण सफा राख्न पनि भनिएको छ। शङ्कास्पद गतिविधि, दुर्घटना वा आपत्कालीन अवस्था देखिए तुरुन्तै प्रहरी वा टोल फ्री नम्बरमा खबर गर्न मन्त्रालयले नागरिकलाई अनुरोध गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


