सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला, सभामुख अर्यालको आपत्ति

सभामुख डोलप्रसाद अर्यालले तिहारलक्षित रैथाने मेलामा सरकारी स्टलहरूमै प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको भन्दै आपत्ति जनाउनुभएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी अर्थात् खाद्य संस्थान परिसरमा आयोजित मेलाको अवलोकनपछि उहाँले सञ्चारकर्मीसँग यस्तो बताउनुभएको हो। नागरिकलाई प्लास्टिकमुक्त समाज बनाउन आग्रह गरिरहेको सरकारकै स्टलमा त्यस्ता झोला देखिनु उचित नभएको उहाँको भनाइ छ।
सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य अर्थात् एमआरपी स्पष्ट नलेखिएको पनि उहाँले औँल्याउनुभएको छ। निजी व्यवसायीलाई एमआरपी अनिवार्य राख्न निर्देशन दिने सरकारले आफ्नै सामानमा त्यो नियम नमानेको भन्दै सभामुखले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। मेलामा करिब २६ वटा स्टल राखिएका छन्।
सभामुख अर्यालले रैथाने कृषि उत्पादनको बजारीकरणका लागि यस्ता मेला काठमाडौँमा मात्र सीमित नराखी देशका ठूला सहरमा नियमित रूपमा आयोजना गर्नुपर्ने बताउनुभएको छ। चाडपर्वमा मात्र नभई बिदाका दिनमा पनि मेला चलाउँदा दुर्गम क्षेत्रका किसानले आफ्नो उत्पादन उपभोक्तासम्म पुर्याउन सक्ने उहाँको धारणा छ। किसानलाई उत्पादनसँगै प्रचार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने उहाँले औँल्याउनुभएको छ।
खाद्य संस्थान र साल्ट ट्रेडिङजस्ता सरकारी संस्था तथा सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकता दिएर प्रवर्द्धन गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


