तिहार र छठमा ट्राफिक व्यवस्थापन कडा, ठूलो आवाजका २५ मोटरसाइकल नियन्त्रणमा

तिहार र छठ पर्वका बेला काठमाडौँ उपत्यकामा सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरीले ट्राफिक व्यवस्थापन र निगरानी कडा बनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले मातहतका प्रहरी कर्मचारीलाई चाडपर्वभर उच्च सतर्कतासाथ काम गर्न निर्देशन दिनुभएको छ। सोमबार कार्यालयमा भएको तिहार तथा छठ लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ट्राफिक व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन भन्नुभएको हो।
चाडपर्वमा सवारी दुर्घटना बढ्ने सम्भावना हुने भएकाले दुर्घटना घटाउने कामलाई पहिलो प्राथमिकता दिन उहाँले निर्देशन दिनुभएको छ। नागरिकले खुसीसाथ पर्व मनाउन पाउनु नै प्रहरीको खुसी भएको उहाँको भनाइ छ। उहाँले नागरिकका लागि सुरक्षित र सहज यात्राको वातावरण बनाउने गरी ड्युटीमा खटिन प्रहरीलाई आग्रह पनि गर्नुभएको छ।
कार्यक्रममा सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो। यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले सवारीको स्वरूप बदलेर ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। परिसरमातहतका प्रहरी वृत्त र प्रभागका टोलीले आइतबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ती मोटरसाइकल फेला पारेका हुन्।
तिहारमा सर्वसाधारणलाई शान्त वातावरणमा आवतजावत गराउन विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकलबारे थप अनुसन्धान भइरहेको परिसरले उल्लेख गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


