टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको सन् २०२६ को जलवायुसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वमा अटाएका छन्। 'टाइम १०० क्लाइमेट' नाम दिइएको सूचीको नेतृत्वकर्ता विधामा उनको नाम समावेश छ।
रसुवा–भोटेकोशी क्षेत्रको विनाशकारी बाढीपछि जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त जुटाउने पहल र विश्व प्रणालीमा सुधारसम्बन्धी धारणालाई टाइमले मुख्य आधार मानेको छ। गत भदौको बाढीपछि जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय बनाउन वाग्लेको भूमिका महत्त्वपूर्ण रहेको टाइमको प्रोफाइलमा उल्लेख छ। बाढीपछि नेपाल सरकारले सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिका लागि औपचारिक आग्रह गरेको थियो।
टाइमको विवरणअनुसार राष्ट्रसंघको जलवायु कोषबाट नेपाललाई करिब २ करोड १६ लाख अमेरिकी डलर दिने प्रस्तावले प्रारम्भिक स्वीकृति पाएको छ। विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा निकै थोरै भए पनि जलवायु परिवर्तनको असर नेपालजस्ता विकासशील देशले बढी भोगिरहेको विषय उनले उठाउँदै आएका छन्। करिब २८ वर्षदेखि दिगो आर्थिक विकासको अध्ययन, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेसँगै सूचीमा बेलायती राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस पनि छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


