कोप–३१: नेपाल पेभिलियन उद्घाटन, अर्थमन्त्री टर्कीए पुगे, हिमाली मुद्दा छुट्टै एजेन्डा बनेन

टर्कीको आन्ताल्यामा सोमबारदेखि सुरु भएको विश्व जलवायु सम्मेलन कोप–३१ मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल पेभिलियनको उद्घाटन गर्नुभएको छ। नोभेम्बर २० सम्म चल्ने सम्मेलनमा नेपाली टोलीको नेतृत्व खनालले गर्नुभएको छ। उद्घाटनका क्रममा उहाँले भोटेकोशी विपद्लाई 'हिमालयन सुनामी' भन्दै न्यून उत्सर्जन गर्ने नेपालले असमानुपातिक क्षति बेहोर्नुपरेको बताउनुभएको छ।
हानि तथा नोक्सानी कोषमा प्रभावित देशको सहज पहुँच र हिमाली क्षेत्रको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र प्रतिनिधिसभा सदस्य सागर ढकाल पनि उपस्थित हुनुहुन्थ्यो। अर्थमन्त्री डा.
स्वर्णिम वाग्ले पनि सोमबार सम्मेलनका लागि प्रस्थान गर्नुभएको छ। उहाँको सचिवालयका अनुसार उहाँले करिब आधा दर्जन उच्चस्तरीय सत्रमा जलवायु र दिगो आर्थिक विकासका विषयमा नेपालको पक्ष राख्नुहुनेछ र कात्तिक २९ गते आइतबार स्वदेश फर्कनुहुनेछ। यसैबीच नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको हिमाली मुद्दा सम्मेलनको छुट्टै औपचारिक कार्यसूचीमा पर्न सकेको छैन।
किर्गिस्तानले पनि छुट्टै प्रस्ताव राखेको थियो, तर वार्ताका क्रममा उसले आफ्नो प्रस्ताव नेपाल र भुटानको प्रस्तावसँग मिलाउन सहमति जनाएको छ। नेपाली प्रतिनिधिमण्डलका एक अधिकारीका अनुसार राति २ बजेसम्म चलेको वार्तापछि सम्मेलनभरि यस विषयमा छलफल जारी राख्ने र अन्तिम निर्णयमा समेट्ने प्रयास गर्ने समझदारी भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


