धनगढीको शिवगंगामा ९ वर्षमा पनि पुल बनेन

कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित शिवगंगा नदीमा पुलको काम थालेको ९ वर्ष बितिसक्दा पनि पुल तयार भएको छैन। पुलको ठेक्का सम्झौता २०७४ असार २७ गते पप्पु–एडभेन्चर जेभीसँग भएको थियो। पुलको लागत अनुमान करिब १६ करोड ६३ लाख रुपैयाँ थियो।
करिब १४ करोड २७ लाख रुपैयाँमा बनाउने गरी सम्झौता भए पनि भौतिक प्रगति करिब ३० प्रतिशतमा सीमित छ। पुल नहुँदा धनगढी–१६ र १७ सहित रामपुर, चौमाला, अम्बागया, ढाँगा, घसिता र बिउँसाहाका बासिन्दा प्रभावित छन्। केही समयअघि धनगढी–१७ की रामप्यारी चौधरीले बिरामी छोरालाई उपचारका लागि धनगढी ल्याउन पिठ्युँमा बोकेर नदी तार्नुपरेको थियो।
धनगढी–१५ का सागर चौधरी भने मोटरसाइकल डल्लवमा राखेर नदी पार गर्छन्। अर्को बाटो प्रयोग गर्दा समय र खर्च दुवै बढ्ने उहाँले बताउनुभएको छ। धनगढी–१६ का वडाध्यक्ष रामलाल चौधरीका अनुसार नदी तरेर जोखरताल हुँदै धनगढी पुग्न करिब १० किलोमिटर लाग्छ।
पुल नहुँदा स्थानीयले अत्तरिया–चौमाला हुँदै करिब ४२ किलोमिटर घुम्नुपरेको वा बेली हुँदै हुलाकी राजमार्ग प्रयोग गर्नुपरेको छ। बेहडाबाबा धाम जाने छोटो बाटो पनि यही भएकाले धार्मिक पर्यटक पनि मारमा परेका छन्। पुल बने स्थानीयको आवतजावत र भक्तजनको यात्रा सहज हुने वडाध्यक्ष चौधरीले बताउनुभएको छ।
नदीमा बहाव बढेका बेला वारपार झन् जोखिमपूर्ण हुने स्थानीयले बताएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

