चाडपर्वमा आगलागी भए पाँच मिनेटभित्र दमकल पुर्याउने महानगरको तयारी

काठमाडौँ महानगरपालिकाले चाडपर्वका बेला आगलागी वा अन्य विपद् भए पाँच मिनेटभित्र घटनास्थलमा दमकल पुर्याउने तयारी गरेको जनाएको छ। दशैँ, तिहारलगायतका चाडपर्वमा आगलागीको जोखिम बढ्ने भएकाले विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको छ। महानगरका फायर कमान्डर तथा नगर प्रहरी वरिष्ठ नायब निरीक्षक नरेशराज कुँवरका अनुसार कार्यालयले हाल ३ स्थानबाट सेवा दिइरहेको छ।
तीनै स्टेसनमा दमकल, उपकरण र कर्मचारी तुरुन्त परिचालन गर्न सकिने गरी राखिएको उहाँले बताउनुभएको छ। आवश्यक परे करिब ६ देखि ७ वटा दमकल र तिनलाई चाहिने जनशक्ति तयारीमा राखिएको कुँवरको भनाइ छ। घटनास्थलको दूरी हेरेर तीनमध्ये नजिकको स्टेसनबाट टोली पठाइने व्यवस्था मिलाइएको छ।
आगलागी वा अन्य विपद्को सूचना पाउनासाथ टोली १ मिनेटभित्र कार्यालयबाट निस्कने व्यवस्था गरिएको महानगरले जनाएको छ। नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर चाडपर्वका लागि छुट्टै ड्युटी तालिका बनाइएको छ। महानगरमा हाल करिब २१ जना अग्निनियन्त्रक नियुक्त भएर काम गरिरहेका छन्।
फायर कमान्डर कुँवरले बिजुलीका उपकरण असुरक्षित ढंगले चलाउँदा आगो लाग्न सक्ने भन्दै बत्ती जडान र सञ्चालनमा सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

