महानवमीमा सप्तरीका दुई शक्तिपीठमा सेनाको पुष्पवृष्टि

कात्तिक ३ गते मङ्गलबार पर्ने बडादसैँको महानवमीमा सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ। पुष्पवृष्टि हुने मन्दिरहरू छिन्नमस्ता गाउँपालिका–३, सखडाको छिन्नमस्ता भगवती र कंकालिनी नगरपालिका–१, भारदहको कंकालिनी भगवती हुन्। छिन्नमस्ता मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार महानवमीको बिहान दर्शन गर्न आएका भक्तजनमाथि हेलिकप्टरबाट फूल खसालिनेछ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीका अनुसार कंकालिनी भगवती मन्दिरमा मङ्गलबार बिहान १० बजेदेखि महासङ्कल्प पूजा सुरु हुनेछ। सोही पूजाकै क्रममा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभएको छ। नगरपालिकाले असोज २३ गते नै प्रधानसेनापतिलाई पत्र पठाएर पुष्पवृष्टिका लागि हेलिकप्टर उपलब्ध गराइदिन अनुरोध गरेको थियो।
पुष्पवृष्टिमा चाहिने फूलको जोहो नगरपालिका आफैँले गर्ने नगरप्रमुख माझीले जानकारी दिनुभएको छ। यसैबीच आज महाअष्टमीको दोस्रो दिन सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

