उपल्लो मुस्ताङका दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट बन्द

उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिब २५ दिनदेखि निजी कम्पनी टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा ठप्प भएको छ। असोज ९ गतेदेखि परेको लगातार वर्षा र बाढीपछि बिग्रिएको सेवा अहिलेसम्म मर्मत नभएको स्थानीयले बताएका छन्। चीनसँग सीमा जोडिएका यी गाउँपालिकामा सरकारी, गैरसरकारी कार्यालय र निजी घरसमेत यही कम्पनीको इन्टरनेटमा निर्भर छन्।
सेवा बन्द हुँदा गाउँपालिका, बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको काम प्रभावित भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभएको छ। पटक–पटक अनुरोध गर्दा पनि कम्पनीले चासो नदेखाएपछि जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभएको छ। अग्रिम भुक्तानी लिएको कम्पनीले मर्मत नगरेको अध्यक्ष गुरुङको गुनासो छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लोमन्थाङ इलाका कार्यालयले नेपाल टेलिकमको मोबाइल डाटाबाट हटस्पट चलाएर काम गरिरहेको कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभएको छ। कार्यालयले अग्रिम तिरेको रकम फिर्ता माग गरेको पौडेलको भनाइ छ। स्थानीयले सेवा अवरुद्ध गराउने कम्पनीमाथि कानुनअनुसार कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष माग गरेका छन्।
मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पनि इन्टरनेटको गुणस्तर कमजोर रहेको सर्वसाधारणको गुनासो छ। यस विषयमा टेकमाइण्ड नेटवर्कको प्रतिक्रिया आउन सकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

