डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम, माग पूरा नभए सत्याग्रह

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले चार माग पूरा गर्न सरकारलाई एक हप्ताको समय दिनुभएको छ। समयसीमाभित्र माग सम्बोधन नभए सत्याग्रहसहित आन्दोलन फेरि थाल्ने चेतावनी उहाँले सोमबार सार्वजनिक विज्ञप्तिमार्फत दिनुभएको हो। गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पर्याप्त पूर्वाधार र जनशक्ति नहुँदै एमबीबीएस र नर्सिङ पढाउन दिइएको अनुमति खारेज गर्नुपर्ने उहाँको माग छ।
नेपाली आर्मी मेडिकल कलेजलगायत संस्थामा सिट थप्ने चिकित्सा शिक्षा आयोगको निर्णय बदर गर्न पनि उहाँले माग गर्नुभएको छ। आयोगका उपाध्यक्ष डाक्टर देवेन्द्र खत्री नियुक्तिअघि सोही कलेजसँग सम्बद्ध रहेकाले स्वार्थको द्वन्द्व देखिएको डाक्टर केसीको आरोप छ। आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकामाथि निष्पक्ष छानबिन गरी स्वार्थको द्वन्द्व देखिएकालाई बर्खास्त गर्नुपर्ने उहाँको अर्को माग छ।
२४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्न पनि उहाँले माग गर्नुभएको छ। सुदूरपश्चिमका बासिन्दालाई सुलभ र गुणस्तरीय सेवा दिन बनाइएको गेटा शिक्षण अस्पताल अझै पूर्ण क्षमतामा नचलेको उहाँको भनाइ छ। अस्पताललाई पूर्ण क्षमतामा नचलाई निजी मेडिकल कलेज र स्वार्थ समूहलाई फाइदा पुग्ने गरी शैक्षिक कार्यक्रम सुरु गर्न हतार गरिएको उहाँको आरोप छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


