टाढिएकालाई पार्टीमा फर्काउनुपर्छ: सभापति थापा, जेनजी समूहका माग

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्ट भएर टाढिएका नेता तथा कार्यकर्तालाई फेरि कांग्रेसमै फर्काउनुपर्नेमा जोड दिनुभएको छ। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार पोखरामा आयोजना गरेको शोकसभामा उहाँले यस्तो बताउनुभएको हो। सभापति थापाले कांग्रेस ठूला नेताको मात्र नभई गाउँ–गाउँमा खटिएर संगठन बनाउने सबै कार्यकर्ताको साझा पार्टी भएको बताउनुभयो।
पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। सभामा गुरुङले पार्टी संगठन र समाजका लागि गरेको योगदान सम्झिइएको थियो। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता थियो।
सोही अवसरमा पोखरामा जेनजी समूहले नवनिर्वाचित सभापति थापासँग विभिन्न माग राखेको छ। समूहले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनुपर्ने र सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। आन्दोलनमा सहभागी युवामाथि हुने राजनीतिक प्रतिशोध अन्त्य गर्नुपर्ने माग पनि उनीहरूको छ।
भ्रष्टाचार र कुशासनविरुद्ध युवाको नेतृत्वमा भएको आन्दोलनले सुशासन, जवाफदेहिता र नागरिक स्वतन्त्रताको माग उठाएको समूहको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


