नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान भोलिदेखि

नेपाली कम्युनिस्ट पार्टी, नेकपाले भोलि कात्तिक ७ गतेदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। पार्टीका अनुसार यो अभियान मङ्सिर २५ गतेसम्म चल्नेछ। जनताले भोगिरहेका समस्या र उनीहरूका माग सङ्कलन गरी समाधानका लागि पहल गर्नु अभियानको मुख्य उद्देश्य हो।
अभियानअन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। पार्टीले देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, गोष्ठी र पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। ती कार्यक्रममार्फत बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, असुरक्षा र जनजीविकाका समस्यामा सम्बन्धित निकायको ध्यान खिचिने पार्टीको भनाइ छ।
प्राकृतिक प्रकोपमा परेका नागरिकलाई उद्धार, राहत र क्षतिपूर्ति दिलाउन तथा उनीहरूको पुनःस्थापनाका लागि पनि पार्टीले पहल गर्नेछ। अभियानकै अवधिमा जनसेवा र जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गरिने नेकपाले उल्लेख गरेको छ। अभियान चलाउने निर्णय असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


