आदिनाथ मन्दिरमा कात्तिक ९ देखि एक महिने मेला, तयारी पूरा

काठमाडौंको दक्षिणी भेग, कीर्तिपुर नगरपालिका–६ मा रहेको आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला सुरु हुँदै छ। यो मेला आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ। मेलाको तयारीस्वरूप मेला व्यवस्थापन समितिले स्थानीय सङ्घसंस्थासँग समन्वय गरेर मन्दिर परिसर र आसपासको क्षेत्र सफा गरेको छ।
मन्दिरलाई अहिले राम्ररी सिँगारेर चिटिक्क पारिएको छ। मेला व्यवस्थापन समितिले यस वर्ष मेलामा करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरेको जनाएको छ। मन्दिरमा शिव र पार्वतीको संयुक्त रूप झल्काउने मूर्ति स्थापित छ।
यही मूर्तिका कारण यस मन्दिरलाई आदिनाथका साथै अर्धनारेश्वर नामले पनि चिनिन्छ। आदिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको साझा सांस्कृतिक सम्पदाका रूपमा रहेको छ। हिन्दु धर्मावलम्बीले यहाँका देवतालाई शिव र शक्तिको प्रतीक मानेर पूजा गर्छन्।
बौद्ध अनुयायीले भने उनै देवतालाई लोकेश्वरका रूपमा करुणाको प्रतीक मानेर आराधना गर्छन्। परिवारमा सुख र समृद्धि आउने तथा भय र विघ्न टर्ने आस्थाका साथ भक्तजन यो मेलामा पुग्ने गरेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


