आरुघाटमा बेलिब्रिजको सामग्री आइपुग्यो, अलपत्र यात्रु हेलिकप्टर पर्खंदै

बुढीगण्डकी नदीको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज निर्माणका लागि चाहिने सामग्री आइपुगेको छ। बाढीले पुलको गोरखातर्फको करिब २२ मिटर भाग बगाएपछि आइतबारदेखि यस नाकामा सवारी आवागमन पूर्ण रूपमा ठप्प छ। यातायात सेवा छिटो सुचारु गर्न नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज जडान गरिने भएको छ।
निर्माण कार्य अघि बढाउन नेपाली सेनाको प्राविधिक टोली पनि आरुघाट पुगिसकेको छ। पहिले आवश्यक सिभिल काम सक्नुपर्ने र जडान सुरु भएको करिब दुई दिनमा बेलिब्रिज तयार हुने सेनाले जनाएको छ। यता सडक अवरुद्ध हुँदा काठमाडौँलगायतका विभिन्न ठाउँबाट आफ्नो गृहजिल्ला फर्कंदै गरेका सर्वसाधारण आरुघाटमै अलपत्र परेका छन्।
आरुघाट गाउँपालिका वडा नम्बर ३ को छेपारेदेखि अगाडिको सडक सञ्जाल पूरै बन्द भएकाले त्यहाँबाट माथि कुनै पनि गाडी चल्न सकेका छैनन्। हेलिकप्टरमार्फत गाउँसम्म पुग्न पाइने आशामा ती यात्रुहरू घरिलचौरमा बसिरहेका छन्। तर हालसम्म हेलिकप्टरले उनीहरूमध्ये एक जनालाई पनि गाउँ पुर्याएको छैन।
नेपाली सेनाले भने बाढी प्रभावित बस्तीमा राहत सामग्री पुर्याउने र बाढीमा फसेकाहरूको उद्धार गर्ने काम जारी राखेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


