सङ्खुवासभाको विकट हटियामा राष्ट्रिय प्रसारण लाइनको बिजुली

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली दिन थालेको छ। यसअघि हटिया क्षेत्रले लघु जलविद्युत् आयोजनाबाट बिजुली पाउँदै आएको थियो। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको योजना तथा प्राविधिक सेवा विभागले सञ्चालन गरेको आयोजनाबाट लाइन विस्तार गरिएको हो।
खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हटियाको अस्पतालमा थ्री फेज मिटर जडान गरेर आपूर्ति सुरु गरिएको छ। राष्ट्रिय लाइन जोडिएपछि यो विकट क्षेत्रमा बिजुली थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल र घरेलु उद्योगले प्रत्यक्ष फाइदा पाउने प्राधिकरणले जनाएको छ।
चीनसँग सीमा जोडिएको सोही गाउँपालिकाको किमाथाङ्कासम्म पनि प्रसारण लाइन पुर्याउन प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय लाइनको बिजुली पुर्याउने प्राधिकरणको लक्ष्य छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


