लिग–२: रोहितको अर्धशतक र करणको आक्रामक ब्याटिङ, ओमानलाई २६४ रनको लक्ष्य

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको छ। नेपालको सुरुवात कमजोर रहँदा ओपनर आसिफ शेख ४ रनमै आउट हुनुभएको थियो।
त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटमा ६४ रनको साझेदारी गर्नुभएको थियो। रोहित पौडेलले ६७ बल खेलेर ३ चौका र १ छक्कासहित सर्वाधिक ६१ रन बनाउनुभएको छ। अघिल्लो खेलमा क्यानडाविरुद्ध उहाँले शतक प्रहार गर्नुभएको थियो।
तल्लो क्रममा आएका करण केसीले १६ बलमा ४ छक्का र १ चौकासहित ४० रन जोड्नुभएको छ। उहाँले ४९औँ ओभरमा हसनैन शाहको बलमा लगातार तीन छक्का हान्नुभएको थियो र इनिङ्सको अन्तिम बलमा रनआउट हुनुभयो। अर्जुन कुमालले ४०, इशान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभएको छ।
ओमानका शाह फैसल, शकील अहमद र करण सोनावालेले समान २ विकेट लिएका छन्। यसअघि आइतबार नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई हराएको थियो। लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ, ओमान २९ खेलबाट ३३ अंकसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


