कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गते घरबाट निस्कने फोहोर बाहिर नफालेर घरमै राख्न नगरवासीलाई अनुरोध गरेको छ। दसैँका मुख्य दिनमा सफाइ कर्मचारी पर्व मनाउन बिदामा जाने भएकाले ती तीन दिन फोहोर सङ्कलन बन्द रहने महानगरले जनाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले घरमा जम्मा हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर फरक-फरक भाँडो वा झोलामा राख्न आग्रह गर्नुभएको छ।
उहाँले घर, कार्यालय र व्यवसायबाट निस्कने फोहोर सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै कम्पाउन्डभित्र व्यवस्थापन गर्न पनि भन्नुभएको छ। उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा कात्तिक १ देखि ४ गतेसम्म काम प्रभावित हुने महानगरले जनाएको छ। त्यहाँको स्यानिटरी ल्यान्डफिल साइट बन्द रहँदा फोहोर व्यवस्थापनमा असुविधा हुन सक्ने भएकाले घरमै फोहोर राख्न आग्रह गरिएको हो।
यो अनुरोध काठमाडौँ महानगरसहित उपत्यकाका सबै बासिन्दालाई लक्षित छ। तोकिएका दिनबाहेक अन्य दिन फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने महानगरले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


