३० असोज २०८३ English
English

नवरात्रको छैटौँ दिन शक्तिपीठमा भक्तजन, कुमारीद्वारा पचली भैरवको दर्शन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवरात्रको छैटौँ दिन शक्तिपीठमा भक्तजन, कुमारीद्वारा पचली भैरवको दर्शन

YouTube मा सब्स्क्राइब

नवरात्रको छैटौँ दिन आज काठमाडौँ उपत्यकाका शक्तिपीठहरूमा दर्शनका लागि भक्तजन पुगेका छन्। दुर्गा पक्षको यस दिन घरघरका दसैँ घर र पूजाकोठामा कात्यायनी देवीको विधिपूर्वक आराधना गरिएको छ। बिहानैदेखि काठमाडौँका शक्तिपीठमा भक्तजनको भीड देखिएको छ।

ललितपुर र भक्तपुरका पीठमा पनि दर्शनार्थीको सङ्ख्या बढिरहेको छ। नवरात्रमा पहिलो दिन शैलपुत्रीबाट सुरु गरी नवौँ दिन सिद्धिदात्रीसम्म नवदुर्गाका नौ रूपको पूजा गरिन्छ। नौ दिनको आराधनापछिको प्रसाद धेरै ठाउँमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ, कतिपय परिवारमा भने कुलको चलनअनुसार दशमीको दिन मात्र लगाइन्छ।

यसैबीच, जीवित देवी कुमारीले हनुमानढोकामा पचली भैरवको दर्शन गरेकी छिन्। हरेक वर्ष असोज शुक्ल पञ्चमीको राति कुमारीलाई भैरवको दर्शन गराउने परम्परा छ। काठमाडौँ महानगरपालिका–१२ को पचली पीठबाट घ्याम्पोमा भैरवको प्रतीक राखेर बाजागाजासहित जात्रा गरिएको थियो।

जात्राले टेकु, लगन, ज्याबहाल, मरु, दलाछी, यङ्गाललगायत भित्री सहरको परिक्रमा गरेको थियो। बाटोका टोलमा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो। कुमारीले शक्ति पाउने जनविश्वासअनुसार यो दर्शन गराइन्छ।

उपत्यकाको सुरक्षा र खराब शक्तिबाट नागरिकको रक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ। नेवार समुदायले भैरव जात्रालाई आफ्नो प्रमुख पर्वका रूपमा लिन्छ।

स्रोत

सम्बन्धित समाचार