सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ आजदेखि, विरोधमा उजुरी परेका छन्

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको सुनुवाइ शुक्रबार र शनिबार गर्ने भएको छ। न्याय परिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले जम्मा २८ वटा उजुरी दिएका छन्। तीमध्ये बागचन्दविरुद्ध ५, सारुविरुद्ध ६, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध ७ वटा उजुरी छन्। ५ जना उजुरीकर्ताले चारै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको सभापति श्रेष्ठले बताउनुभएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सचिवालयले तयार पारेको सुनुवाइ कार्यतालिका स्वीकृत गरेको छ। सोही बैठकमा सदस्यहरूलाई अध्ययनका लागि उजुरीको प्रति वितरण गरिएको छ। कार्यतालिकाअनुसार शुक्रबार बिहान ९:३० बजेदेखि समितिले उजुरीकर्तालाई बोलाएर उजुरीको पुष्टि र औचित्यबारे छलफल गर्नेछ।
त्यसपछि सोही दिन बागचन्द र सारुको सुनुवाइ हुनेछ। शनिबार पाण्डे र डाँगीको सुनुवाइ हुने सभापति श्रेष्ठले जानकारी दिनुभएको छ। संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्त गर्नुहुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


