१६ असोज २०८३ English
English

सामुदायिक वन व्यवस्थापनबाट तनहुँमा तीन हजारभन्दा बढी क्युफिट काठ उत्पादन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सामुदायिक वन व्यवस्थापनबाट तनहुँमा तीन हजारभन्दा बढी क्युफिट काठ उत्पादन

YouTube मा सब्स्क्राइब

तनहुँका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममार्फत ३ हजार ३३४ क्युफिट काठ उत्पादन भएको छ। साल, कटुस र चिलाउनेलगायतका रूख कटान गरी काठसँगै दाउरा पनि निकालिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभएको छ। वनको अवस्था, उमेर, घनत्व र व्यवस्थापन योजनाका आधारमा रूख हटाएर पुनरुत्पादन र उत्पादकत्व जोगाउने उद्देश्य रहेको उहाँको भनाइ छ।

देवघाट गाउँपालिका–५ को साँढेबगर सामुदायिक वनले सबैभन्दा बढी १ हजार ७०० क्युफिट सालको काठ र ३ चट्टा दाउरा उत्पादन गरेको छ। यो परिमाण कुल उत्पादनको आधाभन्दा बढी हो। म्याग्दे–१ को टुनीभञ्ज्याङ सामुदायिक वनबाट ५३५ क्युफिट र भानु नगरपालिका–७ को थानीमाई सामुदायिक वनबाट ४३१ दशमलव २६ क्युफिट काठ निस्किएको छ।

ऋषिङ–४ को गुम्लेकबाट २००, घिरिङ–१ को नीलकण्ठबाट १५० र शुक्लागण्डकी–९ को ढोरबाराहीबाट १३० क्युफिट काठ उत्पादन भएको छ। व्यास नगरपालिकाको बाघभञ्ज्याङबाट ११८ र बन्दीपुर–१ को छपेलीबाट ७० क्युफिट काठ निकालिएको कार्यालयले जनाएको छ। रोगी रूख हटाउँदै नयाँ बिरुवाको वृद्धि बढाएर वन व्यवस्थापनलाई दिगो बनाउने लक्ष्य रहेको कार्यालयको भनाइ छ।

उत्पादित काठ र दाउरा कानुनअनुसार स्थानीय उपभोक्ताको आवश्यकतामा प्रयोग गरिने रानाभाटले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार