चार दिन बित्दा पनि अधिकांश सरकारी वेबसाइट बन्द

वेबसाइट बनाउन प्रयोग हुने पीएचपी प्रणालीमा विश्वभर सुरक्षा कमजोरी भेटिएपछि बन्द गरिएका अधिकांश सरकारी वेबसाइट चार दिन बित्दा पनि खुल्न सकेका छैनन्। सम्भावित साइबर आक्रमणबाट जोगिन कात्तिक ५ गते बिहीबारदेखि हजारौँ सरकारी साइट बन्द गरिएको हो। यातायात व्यवस्था विभागको साइट नखुल्दा नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने काम रोकिएको छ।
मालपोत विभागको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएस प्रणाली पनि ठप्प छन्। राष्ट्र बैंकको साइट बन्द हुँदा विदेशी मुद्राको विनिमय दर र ब्याजदर थाहा पाउन सर्वसाधारण सामाजिक सञ्जालमा भर पर्नुपरेको छ। कालीमाटी तरकारी बजारको वेबसाइट पनि बन्द छ।
उस्तै समस्या भोगेका निजी बैंक तथा वित्तीय संस्थाले भने ३ देखि ४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा सुचारु गरिसकेका छन्। राहदानी, श्रम स्वीकृति र राष्ट्रिय परिचयपत्रजस्ता पीएचपी प्रयोग नगर्ने सेवा भने चलिरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सफ्टवेयर विकास केन्द्रका अनुसार नेपालमा अहिलेसम्म कुनै साइबर आक्रमण भएको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


