२५ असोज २०८३ English
English

बूढीगण्डकी बाढीले ६ पुल बगाए, कम्तीमा १० जना सम्पर्कविहीन; जगतबाट ६ जनाको हवाई उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढीले ६ पुल बगाए, कम्तीमा १० जना सम्पर्कविहीन; जगतबाट ६ जनाको हवाई उद्धार
तस्बिर: नेपाल प्रेस

गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढीले ६ वटा पुल बगाएको छ। कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको हो।

बाढीले धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प पनि बाढीले बगाएको छ।

यसैबीच, पहिरोको जोखिममा रहेको चुमनुब्री गाउँपालिका–६ को जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिएका हुन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्ग दुवैबाट परिचालन गरिएको छ। सेनाको उद्धार टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ। आइतबार बिहान करिब ४:३० बजे चुमनुब्री गाउँपालिका–३ को फिलिममा पहिरोले बूढीगण्डकी थुनिएको थियो। त्यसपछि खुलेको नदीले तल्लो क्षेत्रमा क्षति पुर्‍याएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार