नवरात्रको पहिलो दिन पाथीभरा र जनकपुरका शक्तिपीठमा भक्तजनको भीड

नवरात्रको पहिलो दिन आज ताप्लेजुङको पाथीभरा र धनुषाको जनकपुरधामका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहानैदेखि मन्दिर परिसरमा भक्तजन पुगेका छन् र फेदीका होटलमा पनि तीर्थयात्रीको भीड बढेको छ। देवी दर्शनसँगै कञ्चनजङ्घा, मकालु र फक्ताङलुङ हिमाल हेर्न आउनेहरूले गर्दा झन्डै सबै होटल भरिएको स्थानीय व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभएको छ।
यात्रुको आवागमन सुरक्षित बनाउन समितिसँग मिलेर आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभएको छ। जनकपुरधामको ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोक र रामानन्द चोकका दुर्गा मन्दिरमा तान्त्रिक पद्धतिअनुसार घटस्थापना गरिएको छ। पुजारीहरूका अनुसार बिहानको शुभ साइतमा गणेश, भैरव र दुर्गा कलश स्थापना गरेर वैदिक मन्त्रसहित पूजा थालिएको हो।
पर्वका लागि यी मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ। राजा जनककी कुलदेवी मानिने राजदेवी मन्दिरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा गर्ने परम्परा छ। यही पूजा विधि हेर्न टाढाटाढाबाट भक्तजन जनकपुर आउने गर्छन्।
मन्दिर पूजा व्यवस्थापन समितिका अनुसार मूल प्रवेशद्वारदेखि गर्भगृहसम्म प्लास्टिकका फूलमाला, झिलिमिली बत्ती र तोरणले सजावट गरिएको छ। सजावटमा भारतबाट भाडामा ल्याइएका सामग्री पनि प्रयोग भएका छन्। समितिले यस वर्ष विगतभन्दा व्यवस्थित र आकर्षक ढङ्गले पर्व मनाउने लक्ष्य राखेको जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


