२५ असोज २०८३ English
English

आरुघाट–धादिङ पुल बगेपछि बेलिब्रिज राख्ने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आरुघाट–धादिङ पुल बगेपछि बेलिब्रिज राख्ने तयारी

YouTube मा सब्स्क्राइब

बूढीगण्डकी नदीको लेदोसहितको बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि त्यहाँ बेलिब्रिज राख्ने तयारी सुरु भएको छ। गोरखा सडक योजनाका अनुसार बेलिब्रिज जडानका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने काम भइरहेको छ। सामग्री सम्भवतः भोलिसम्म आइपुग्ने र आएलगत्तै निर्माण थालिने योजनाका प्रमुख विनोद पुनले बताउनुभएको छ।

नेपाली सेनाले आइतबारै एउटा टोली घटनास्थलमा पठाइसकेको जनाएको छ। रेकीका लागि टोली पुगिसकेको र हेटौँडाबाट सामान आएपछि काम थालिने रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभएको छ। सडक विभागको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले गोरखा जिल्लाका दुईवटा पुलमा क्षति पुर्‍याएको छ।

आरुघाट गाउँपालिकाको वडा २ र ३ जोड्ने सोतीखोला पुल पूर्ण रूपमा बगेको छ। गोरखा–धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर लामो आरसीसी भाग बगेको विभागले जनाएको छ। उक्त पुलमा ६० मिटरको ट्रस र २५ मिटरको आरसीसी संरचना रहेकामा ट्रस भाग अझै उभिएको देखिन्छ।

यातायात छिटो सुचारु गर्न बाँकी ट्रसमाथि बेलिब्रिज राख्न सकिन्छ कि भनेर विभागले अध्ययन गरिरहेको छ। पुलको विस्तृत प्राविधिक मूल्याङ्कनपछि मात्र बाढीको पूरा क्षति स्पष्ट हुने विभागको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार