बाढीले जगत गाउँ नाकाबन्दीमा, २५ घरको आवतजावत विच्छेद

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित जगत गाउँ बाहिरी सम्पर्कबाट पूर्ण रूपमा कटेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार जगतका २५ घर आवतजावतबाट विच्छेद भएका छन् भने ९ घर बाढीले बगाएको छ। गाउँमुनि कालेभिरको बाटो पूरै कटान भएको र माथि सल्लेरीतर्फको सडक तथा पैदलमार्ग पनि बगेको उहाँले बताउनुभएको छ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाको फिलिम कार्यालयका प्रमुख भुवनराज ओझाले जगतका बासिन्दा तल वा माथि कतै जान नसक्ने गरी थुनिएको बताउनुभएको छ। उहाँका अनुसार जगतबाट तल बगरतर्फ जाने बाटो पनि बाढीले काटेको छ। अधिकृत सापकोटाका अनुसार बाढीले वडाका भट्टखोला, बगर, पैयू र सल्लेरी बस्तीमा पनि क्षति पुर्याएको छ।
ती बस्तीमा क्रमशः ७, १०, १० र ४ गरी ३१ परिवारका घर बगेको प्रारम्भिक विवरण छ। घर गुमाएका सबै परिवारका सदस्य सुरक्षित छन् र उनीहरूलाई सुरक्षित स्थानमा राखेर व्यवस्थापन गरिँदै छ। प्रभावितलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


