बूढीगण्डकी करिडोरका केही क्षेत्रमा बिजुली सेवा फेरि सुचारु

बूढीगण्डकी बाढीले अवरुद्ध पारेको बिजुली सेवा गोरखा र धादिङका केही क्षेत्रमा फेरि सुचारु भएको छ। गोरखाको भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा बिजुली आपूर्ति सुरु भएको छ। आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ र आरुपोखरी शाखामा पनि सेवा पुनः सञ्चालनमा आएको छ।
तर धार्चे गाउँपालिकाका प्रभावित बस्तीसम्म पुग्ने पहुँच सडक बिग्रिएकाले त्यहाँ मर्मत गर्न कठिनाइ भएको छ। सडक खुलेलगत्तै मर्मत र पुनःस्थापनाको काम अघि बढाइने जनाइएको छ। बाढीले धार्चेका विभिन्न ठाउँमा करिब ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुर्याएको छ।
सोती, आर्खेत र आरुघाट बजारका वितरण लाइनका पोल तथा धादिङको त्रिपुरासुन्दरी–२ स्याउली बजारमा करिब ६ वटा न्यून भोल्टेजका पोलमा पनि क्षति पुगेको छ। बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। टाइम्स इनर्जीले प्रवर्द्धन गरिरहेको करिब ३४१ मेगावाटको बूढीगण्डकी आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगेका छन्।
करिब २४.५ मेगावाटको दोभान खोला आयोजनाको क्याम्पका केही घर र बेलिब्रिज बगेका छन्। करिब ३०.५९ मेगावाटको यारु खोला आयोजनाको बेलिब्रिज तथा करिब १६ मेगावाटको माछा खोला आयोजनाको पहुँच सडक र पुलमा क्षति पुगेको छ। आयोजनाहरूको क्षतिको वास्तविक विवरण आउन बाँकी रहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


