चाडपर्वमा चितवनमा यात्रु सहायता कक्ष, पर्सा प्रहरीद्वारा चोरीबाट सजग रहन आग्रह

चाडपर्वका बेला यात्रुलाई सहज बनाउन चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यी कक्ष खोलिएका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यात्रुलाई आवश्यक सूचना दिन, यात्रा सहज बनाउन र गुनासो तुरुन्त सम्बोधन गर्न कक्ष खोलिएको बताउनुभएको छ।
उहाँका अनुसार चाडपर्वलक्षित सुरक्षा र सडक सुरक्षाका साथै स्वास्थ्य सहायता कक्ष पनि राखिनेछ। राजमार्गमा सडक अवरोध भए त्यसको समाधानका लागि जिल्ला प्रशासनले पहल गरिरहेको अर्यालले जानकारी दिनुभएको छ। चोरी, अनलाइन ठगी, जुवातास र सडक दुर्घटना नियन्त्रणका लागि प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ।
उता, जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा चोरी, डकैती र लुटपाटबाट जोगिन सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ। आफन्तकहाँ वा बजार जाँदा झ्यालढोका राम्ररी बन्द गर्न र आफू घरमा नहुने कुरा छिमेकी वा प्रहरीलाई बताउन प्रहरीले आग्रह गरेको छ। गहना, महँगा इलेक्ट्रोनिक सामान र धेरै नगद घरमा नछोडी बैंक वा सुरक्षित लकरमा राख्न पनि प्रहरीले सुझाएको छ।
छरछिमेकमा अपरिचित वा शङ्कास्पद व्यक्ति घुमिरहेको देखिए एकअर्कालाई तुरुन्त खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


