झरना रनिङ शिल्डको उपाधि चरङ्गे युथ क्लबलाई

रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा भएको ३८औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदहको चरङ्गे युथ क्लबले जितेको छ। उमा आधारभूत विद्यालयको मैदानमा आइतबार भएको फाइनलमा चरङ्गेले बुटवलको गोर्खा ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गरेको हो। विजेता चरङ्गेले ४ लाख रुपैयाँ नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ।
उपविजेता गोर्खा ब्वाइजलाई २ लाख रुपैयाँ नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले विजेता र उपविजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभएको छ। व्यक्तिगत पुरस्कारमा चरङ्गेका अभिनास प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
चरङ्गेकै कृष्ण आले उत्कृष्ट मिडफिल्डर र भिम पुन उत्कृष्ट गोलरक्षक बनेका छन्। गोर्खा ब्वाइजका विदेशी खेलाडी शिलाले उत्कृष्ट डिफेन्डरको पुरस्कार पाएका छन्। आयोजक झरनाका दिपसन सापकोटा उदीयमान खेलाडी चुनिएका छन्।
म्याच कमिसनर मोहन रानाले यी खेलाडी छनोट भई पुरस्कृत भएको जानकारी दिनुभएको छ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार पनि दिइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


