रुस–युक्रेनबीच 'ऊर्जा युद्धविराम' को ट्रम्पको घोषणा, सर्तसहित जेलेन्स्कीको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन ऊर्जा क्षेत्रमा एकअर्कामाथि आक्रमण रोक्न सहमत भएको घोषणा गर्नुभएको छ। आइतबार सामाजिक सञ्जालमा उहाँले युद्धविराम तत्काल लागू भएको जनाउँदै सहमति नतोड्न आग्रह गर्नुभएको छ। तर सहमतिका सर्तबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन।
घोषणालगत्तै रूस र युक्रेन दुवैले तत्काल प्रतिक्रिया दिएका थिएनन्। पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणालाई समर्थन गर्दै रूसले पनि युद्धविरामप्रति प्रतिबद्धता देखाउनुपर्ने बताउनुभएको छ। उहाँले यस विषयमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुटेसँग कुराकानी गरेको जनाउनुभएको छ।
जेलेन्स्कीले अमेरिकी पक्षबाट सहमतिका थप विवरण आउने प्रतीक्षा गरिरहेको बताउनुभएको छ। रूसले युक्रेनी ऊर्जा पूर्वाधारमा हमला रोके युक्रेनले पनि रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्ने उहाँले यसअघि नै बताउनुभएको थियो। शनिबार राष्ट्रपति ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्ने समय आएको टिप्पणी गर्दै जेलेन्स्कीले युद्ध अन्त्यका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाउनुभएको थियो।
जवाफमा जेलेन्स्कीले युद्धका लागि रूस नै जिम्मेवार रहेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
