१९ कात्तिक २०८३ English
English

'सरकार, कोठा खाली छ?' सत्याग्रह २०० दिन पुग्यो, बाबुराम भट्टराईको ऐक्यबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
'सरकार, कोठा खाली छ?' सत्याग्रह २०० दिन पुग्यो, बाबुराम भट्टराईको ऐक्यबद्धता

YouTube मा सब्स्क्राइब

जातीय विभेदविरुद्ध 'सरकार, कोठा खाली छ?' भन्ने प्रश्नसहित काठमाडौँको माइतीघर मण्डलामा चलिरहेको सत्याग्रह बुधबार २०० दिन पुगेको छ। गत वैशाख ६ गते दीपा नेपाली, सांसद विमला विकलगायत केही युवाले यो सत्याग्रह थालेका थिए। दीपा नेपाली हरेक दिन मण्डलामा उक्त प्रश्नसहित उभिँदै आउनुभएको छ।

डेरा खोज्दा जात सोधेर गरिने भेदभाव अन्त्य गर्नुपर्ने यसको मुख्य माग छ। घरभाडामा हुने जातीय विभेदलाई दण्डनीय बनाउने स्पष्ट कानुन र छुवाछुतविरुद्ध 'शून्य सहनशीलता'को नीति लागू गर्न पनि आन्दोलनकारीले माग गरेका छन्। दलित तथा गैरदलित समुदायका अभियन्ताहरू पनि यो सत्याग्रहमा सहभागी हुँदै आएका छन्।

सरकारले माग प्रभावकारी रूपमा सम्बोधन नगरेकाले धर्ना जारी राखेको आन्दोलनकारीले बताएका छन्। बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई माइतीघर पुगेर ऐक्यबद्धता जनाउनुभएको छ। कथित वर्ण व्यवस्थाका नाममा हुने जातीय विभेद र छुवाछुत २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवीय कलंक भएको भट्टराईले बताउनुभएको छ।

दस वर्षे जनयुद्धमा यो विषय प्रमुख मुद्दा बनाइएको र संविधानमा पनि स्पष्ट लेखिएको उहाँले स्मरण गराउनुभएको छ। सिद्धान्तमा विभेद अन्त्य भए पनि कार्यान्वयनका लागि चाहिने कानुन अझै नबनेको उहाँको भनाइ छ। धर्म र संस्कृतिका कारण हुने विभेदलाई क्रमशः सुधार्न सकिने पनि उहाँले बताउनुभएको छ।

भट्टराईसँगै पत्रकार ऋषि धमला पनि माइतीघर पुग्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार