गुटेरेस: मध्यपूर्वको युद्ध रोकियोस्, जलवायु न्याय हुनैपर्छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध अब रोकिनुपर्ने बताउनुभएको छ। राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै उहाँले इनफ इज इनफ भन्दै युद्ध अन्त्यको सन्देश सभामा उपस्थित सबैको साझा रहेको उल्लेख गर्नुभयो। मानवीय सहायता निर्बाध रूपमा पुग्नुपर्ने र अन्तर्राष्ट्रिय आपूर्ति शृंखला कानुनअनुसार चल्नुपर्ने उहाँको भनाइ छ।
सबै मुलुकले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै उहाँले वेस्ट बैंकमा इजरायलका गतिविधिले शान्तिको बाटो भत्काएको भन्दै विरोध जनाउनुभयो। सम्बोधनमा उहाँले तीन वर्षअघि नेपालका हिमालबाट विश्वको छानो खसिरहेको चेतावनी दिएको र हिउँ तीव्र गतिमा पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको सम्झनुभयो। त्यसलाई कतिपयले बढाइचढाइ भनी खारेज गरे पनि पछिल्ला घटनाले जलवायु सङ्कटका प्रहार धेरैले सोचेभन्दा चाँडै र व्यापक रूपमा देखिएको पुष्टि गरेको उहाँको भनाइ छ।
जलवायु परिवर्तनको मूल्य प्रदूषकले तिर्नुपर्ने र असर परेका कमजोर मुलुकले न्याय पाउनुपर्ने उहाँले जोड दिनुभयो। हानि तथा नोक्सानी कोषमा पर्याप्त रकम हुनुपर्ने उहाँको माग छ। विश्वमा द्वन्द्व बढ्दै गएको, अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको र उत्तरदायित्वविहीन प्रविधि खतरनाक हुने चेतावनी पनि उहाँले दिनुभयो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


