प्रज्ञा–प्रतिष्ठानको 'कथा डबली'मा इन्द्रजात्राको कथा, लाखे र कुमारी नाच; राष्ट्रपति इन्द्रजात्रामा

नेपाल प्रज्ञा–प्रतिष्ठानले इन्द्रजात्राको अवसरमा 'कथा डबली–१' अन्तर्गत 'इन्द्रजात्रा: शारदीय पर्व' कार्यक्रम आयोजना गरेको छ। बिहीबार निरन्तर वर्षाबीच प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा वसन्तपुरको जात्राको माहोल उतार्ने प्रयास गरिएको थियो। वज्रकला कुञ्जका कलाकारले धाँ बाजा, झ्याली र बाँसुरीको तालमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले इन्द्रजात्रा, लाखे र मयजु–कुमारीसँग जोडिएका मिथक र इतिहास सुनाउनुभएको थियो। उहाँले यो पर्व सबै धर्म, सम्प्रदाय र जातजातिको साझा सभ्यता भएको बताउनुभएको छ।
प्रतिष्ठानको काव्य, संस्कृति र डिजिटलाइजेसन विभागका प्रमुख दीपक सापकोटाले जात्राहरूले समुदायलाई जोड्ने काम गर्ने बताउनुभएको छ। मौलिक पर्व र संस्कृतिलाई कथा र कलामार्फत जोगाउन 'कथा डबली' देशका विभिन्न सहर र गाउँमा निरन्तर गरिने प्रतिष्ठानले जनाएको छ। यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न ३ बजे इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
उहाँ जुद्ध सालिकदेखि पैदल हनुमानढोकाको गद्दी बैठकसम्म पुग्नुहुनेछ। प्रथम महिला सबिता पौडेल पनि साथमा रहनुहुनेछ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रपति दम्पतीलाई स्वागत गर्नुहुनेछ। राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएर रथयात्राको अनुमति दिनुहुनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

