तीन महिनामा मधेशबाट झन्डै २८ करोड रुपैयाँको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट झन्डै २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बरामद सामानमा लत्ताकपडा, किराना, इलेक्ट्रोनिक्स, सुर्तीजन्य पदार्थ, सौन्दर्य सामग्री, मोटरपार्ट्स र हार्डवेयर छन्। ती सामान ओसार्न प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन पनि नियन्त्रणमा लिएर भन्सारमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सोही अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यको १ हजार १ सय क्युबिक फिट काठ र १०२ ग्राम चाँदी पनि बरामद भएको छ। तस्करीमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ। मधेशका नदी क्षेत्रमा अवैध उत्खननमा प्रयोग भएका २२ ट्याक्टर, २६ टिपर र २ जेसीबी पनि नियन्त्रणमा लिइएको छ।
खुला सीमाबाट हुने लागूऔषध ओसारपसार रोक्ने क्रममा १ हजार ६ सय ६ किलोभन्दा बढी गाँजा, साढे ९ किलो चरेश र १ सय ९३ ग्राम ब्राउन सुगर बरामद गरिएको सशस्त्रले जनाएको छ। सीमा क्षेत्रमा मानव बेचबिखनको आशङ्कामा २९ महिला र ३० पुरुषलाई अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमा स्तम्भको डिजिटल अभिलेख अद्यावधिक गर्दै भारतीय समकक्षी निकायसँग मिलेर पिलर मर्मत गरिरहेको छ।
दशगजा क्षेत्रको सुरक्षा र अतिक्रमित क्षेत्र खाली गराउने काममा पनि भारतीय पक्षसँग समन्वय भइरहेको उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

