ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढाल्यो

ललितपुरको धापाखेलमा पहिरोले एउटा साढे दुईतले घर पूरै ढालेको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलमा रहेको सोबितकुमार थापाको घर सोमबार बिहान पहिरोसँगै बगेर नजिकैको खोलामा पुगेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटना बिहान ६ बजेर ३५ मिनेटमा भएको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार घर ढलेपछि त्यहाँको खोलासमेत थुनिएको छ। उक्त स्थानमा आइतबारदेखि नै जमिन खस्न थालेको थियो। आइतबार दिउँसो घरको भुइँतलासँग जोडिएको, ट्रसले बनाइएको भान्छा करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
खतरा बढेपछि थापासहित परिवारका ३ जना सदस्य आइतबारै आफन्तकहाँ सरेका थिए। परिवार समयमै बाहिरिएकाले सबै सदस्य सुरक्षित रहेको प्रवक्ता मिश्रले बताउनुभएको छ। प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ४ जनाको टोली घटनास्थलमा खटिएको छ।
ललितपुर महानगरपालिकाको नगर प्रहरीले त्यहाँ रहेका सामान सुरक्षित ठाउँमा सारिरहेको छ। सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का तयार गर्ने टोली पनि घटनास्थलमा पुगेको छ। प्रहरीले जोखिम र क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। काठमाडौँमा वर्षाको सम्भावना ३० प्रतिशत रहेको विभागले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


