थुनिएको मर्स्याङ्दी क्रमशः खुल्दै

मनाङमा अविरल वर्षापछि थुनिएर ताल बनेको मर्स्याङ्दी नदीको पानी क्रमशः बग्न थालेको छ। सहायक खोलाबाट बगेर आएको लेदो, ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा आइतबार दिउँसो नदी थुनिएको थियो। प्रहरीका अनुसार तालबाट आंशिक रूपमा पानी निस्किन थालेको छ।
सडक सम्पर्क टुटेकाले स्काभेटर पुर्याएर बहाव सहज बनाउनेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताउनुभएको छ। यसअघि उहाँले ताल खोल्न विस्फोट गराउनेबारे नेपाली सेनासँग कुराकानी भइरहेको बताउनुभएको थियो। उहाँका अनुसार तालले चामेबाट उपल्लो मनाङ जोड्ने पुल र केही होटल डुबाएको थियो भने करिब ८ देखि १० घर आधा डुबेका थिए।
खराब मौसमका कारण थोराङ पास पदयात्रामा गएका पर्यटक फर्किए पनि पुल डुबेकाले उनीहरू चामे आउन नसकेको उहाँले बताउनुभएको थियो। बाढीले लमजुङ र मनाङको सीमामा रहेको ताल बजारमा पनि क्षति पुर्याएको छ। नासों गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार ४ दिनदेखिको वर्षाले जिल्लाका विभिन्न ठाउँमा बिजुली, टेलिफोन र सडक सम्पर्क अवरुद्ध छ।
प्रशासनले मर्स्याङ्दी किनारका बासिन्दालाई अझै सतर्क रहन आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


