प्रसूति बिदा ६ महिना बनाउने प्रस्तावसहित स्वास्थ्यसम्बन्धी विधेयक संसदमा

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कामकाजी महिलाको तलबसहितको सुत्केरी बिदा ६ महिना पुर्याउने प्रस्तावसहितको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ। सोमबारको बैठकमा पेस भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने विधेयकअनुसार सरकारी, गैरसरकारी र निजी निकायमा काम गर्ने महिलाले सुत्केरी हुनुअघि र पछि गरी यो बिदा पाउनेछन्। पत्नी सुत्केरी भएमा पुरुष कर्मचारीलाई ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव पनि विधेयकमा छ।
हालको कानुनमा आमालाई ९० दिन र बाबुलाई १५ दिनको बिदाको व्यवस्था छ। पछिल्लो जनगणनाले जनसङ्ख्या वृद्धिदर लगातार घटिरहेको देखाएकाले बिदा र प्रोत्साहनमार्फत वृद्धि बढाउन कानुन संशोधन गर्न लागिएको मन्त्री मेहताले बताउनुभएको छ। विशेष अवस्थामा गरिने गर्भपतनसम्बन्धी प्रावधान थप्ने र संशोधन गर्ने तथा बलपूर्वक गराइने गर्भपतनको अवस्था स्पष्ट पार्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।
मन्त्री मेहताले सोही बैठकमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री नियन्त्रण, स्वास्थ्यकर्मीको सुरक्षा र मधेस प्रदेशमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक पनि प्रस्तुत गर्नुभएको छ। आमाको दूधको विकल्पसम्बन्धी संशोधन विधेयकले कानुनले समेट्ने बालबालिकाको उमेर हद १२ महिनाबाट बढाएर ३ वर्ष पुर्याउने प्रस्ताव गरेको छ। सरकारले यी चारवटै विधेयकलाई चालु आर्थिक वर्षको प्राथमिकता सूचीमा राखेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


