त्रिभुवन विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन नउडाउन प्राधिकरणको चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन सर्वसाधारणलाई सचेत गराएको छ। प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयले असोज १८ गते आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता वस्तुले उडान सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख छ। दसैँ सुरु भएसँगै चङ्गा उडाउने गतिविधि बढेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार विमान उड्ने र अवतरण गर्ने क्षेत्रमा चङ्गा, त्यसको डोरी वा धागो, बेलुन र ड्रोन पस्दा जहाजको सुरक्षित सञ्चालनमा अवरोध पुग्छ। विमानस्थल वरपरको क्षेत्रमा यस्ता गतिविधि गर्न कानुनले नै निषेध गरेको छ। यसबारे सर्वसाधारणलाई यसअघि पनि पटक–पटक सूचना दिइँदै आएको कार्यालयले जनाएको छ।
तर चेतावनीपछि पनि यस्ता गतिविधि रोकिन नसकेकोमा कार्यालयले चिन्ता व्यक्त गरेको छ। उडानको सुरक्षा विमानस्थल र अन्य निकायको मात्र नभई हरेक नागरिकको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


