भारतमा मतदाता सूची पुनरावलोकनविरुद्ध विपक्षीको प्रदर्शन, भाजपाको आरोप

भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावलीको विशेष गहन संशोधन, अर्थात् एसआईआरविरुद्ध विपक्षी दल र नागरिक समाजले प्रदर्शन जारी राखेका छन्। बिहीबार बेंगलुरुको फ्रिडम पार्कमा नागरिक समाजका समूह र ककरोच जनता पार्टीले प्रदर्शन आयोजना गरेका थिए। चर्चित युट्युबर ध्रुव राठी, अभिनेता प्रकाश राज र ककरोच जनता पार्टीका संस्थापक अभिजित दिप्के उक्त प्रदर्शनमा सहभागी थिए।
आफू सत्ता परिवर्तनका लागि नभई एसआईआरको विरोधमा भारत आएको राठीले बताउनुभएको छ। उहाँले संशोधन प्रक्रियामा निर्वाचन आयोगले पारदर्शिता र जबाफदेहिता नदेखाएको आरोप लगाउनुभएको छ। प्रदर्शनकारीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्।
अभिनेता प्रकाश राजले एसआईआर खारेज गर्न माग गर्दै यो विषय नाम हटाउनेमा मात्र सीमित नभई नागरिकको मर्यादा र अधिकारसँग जोडिएको बताउनुभएको छ। सत्तारुढ भारतीय जनता पार्टीले भने विपक्षी नेता राहुल गान्धीमाथि प्रदर्शन र धर्नाका नाममा देशमा अराजकता फैलाउन खोजेको आरोप लगाएको छ। भाजपा नेता प्रदीप भण्डारीले पत्रकार सम्मेलनमा सडकमा माहोल बनाउन खोज्नुले विपक्षीको अडान नै कमजोर देखाएको दाबी गर्नुभएको छ।
भाजपाले यस्ता गतिविधिका कारण कांग्रेसप्रति जनताको अविश्वास बढेको जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


