चाडपर्व लक्षित बजार अनुगमन: कालीमाटी, धनकुटा र चाँगुनारायणमा कारबाही

चाडपर्व नजिकिएसँगै काठमाडौँ, धनकुटा र भक्तपुरमा बजार अनुगमन तीव्र पारिएको छ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली कुलेश्वर–कालिमाटी क्षेत्रमा पुग्दा केही किराना व्यापारी सटर बन्द गरेर भागेका छन्। टोलीले एउटा पसलको जाँच गरिरहेका बेला सडकपारिका व्यापारी पसल बन्द गरेर हिँडेको महानगरका फुड टेक्नोलोजिस्ट अनिल बस्नेतले बताउनुभएको छ।
अनुगमनबाट भागेर कानुनी दायित्वबाट उम्कन नसकिने उहाँको भनाइ छ। निरीक्षणमा पसलहरूमा सरसफाइको समस्या, खाद्य वस्तुको गलत भण्डारण र म्याद गुज्रिएका सामान भेटिएका छन्। टोलीले खाद्य स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्न व्यापारीलाई निर्देशन दिएको छ।
धनकुटाको पाख्रीबासमा एक दर्जन होटल तथा पसलको अनुगमन गरी म्याद नाघेका चामल, बिस्कुट, मसला र पेयपदार्थ जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले पसलमा मूल्यसूची टाँस्न निर्देशन दिइएको बताउनुभएको छ। मापदण्डविपरीत चलेका पसललाई सुधार गर्न पनि निर्देशन दिइएको छ।
यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार चाँगुनारायणस्थित ओल्ड टाउण्ड रेष्टुरेन्टलाई १५ हजार र बस्ताकोटी ग्रोसरी स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौँ र भक्तपुरका अन्य चार फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन पत्र पठाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


