शरद् ऋतुमा ४४ हिमाल चढ्न ७६ देशका आरोहीले लिए अनुमति

शरद् ऋतुमा नेपालका ४४ हिमाल चढ्न ७६ देशका १ हजार ४१० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार उनीहरूले १६१ टोली बनाएर अनुमति लिएका हुन्। अनुमति लिनेमा १ हजार ६९ पुरुष र ३४१ महिला रहेको विभागकी शाखा अधिकृत सुधा रेग्मीले बताउनुभएको छ।
अनुमति दिएबापत विभागले करिब ३१ करोड ८० लाख रुपैयाँ रोयल्टी उठाएको छ। सबैभन्दा बढी आरोही ८ हजार १६३ मिटर अग्लो मनास्लुतर्फ आकर्षित भएका छन्। मनास्लुका लागि मात्र ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्, जसमा ३७३ पुरुष र १२७ महिला छन्।
मनास्लुबाट मात्र करिब २२ करोड ५८ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। धौलागिरि–१ का लागि ६ टोलीका ३७ जनाले अनुमति लिएका छन्, जसबाट करिब ८४ लाख ७४ हजार रुपैयाँ रोयल्टी उठेको छ। मकालुका लागि भने एउटा टोलीका ३ जनाले मात्र अनुमति लिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


