सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षा बैठक काठमाडौँमा सुरु

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलबीच सीमा सुरक्षासम्बन्धी दसौँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ। बैठक कात्तिक १३ गतेसम्म चल्नेछ। नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय टोलीको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गर्नुभएको छ।
नेपालतर्फ गृह र परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधि सहभागी छन्। भारततर्फ गृह र विदेश मन्त्रालय तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारी सहभागी छन्। सीमाको प्रभावकारी सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण बैठकका मुख्य विषय हुन्।
दसगजा क्षेत्रको अतिक्रमण हटाउने तथा सीमा स्तम्भको संरक्षण, मर्मत र निर्माणका विषय पनि कार्यसूचीमा छन्। सीमापार असर गर्ने महामारी र विपद्को जोखिम घटाउन तत्काल सूचना आदानप्रदानमा जोड दिइने जनाइएको छ। दुवै बलबीच सम्बन्ध बलियो बनाउन मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम चलाउनेबारे पनि छलफल हुनेछ।
प्रत्येक वर्ष हुँदै आएको यो बैठकको नवौँ संस्करण गत वर्ष भारतमा भएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


