सेयरमा घटाइएको पुँजीगत लाभकर राजपत्रमा प्रकाशित, नयाँ दर लागू

सेयर बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै नयाँ दर लागू भएको छ। राजपत्रको सूचनाअनुसार ३६५ दिनभन्दा बढी समय राखेर बेचिएको सेयरको नाफामा अब ३ दशमलव ७५ प्रतिशत कर लाग्नेछ। ३६५ दिन वा सोभन्दा कम अवधि राखेर सेयर बेच्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्नेछ।
यसअघि यी दुई अवधिका लागि क्रमशः ७ दशमलव ५ प्रतिशत र १० प्रतिशत कर लाग्दै आएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत यो कर २ दशमलव ५ प्रतिशत बिन्दुले बढाउनुभएको थियो।
बजेटअघि दीर्घकालीन लगानीकर्तामा ५ प्रतिशत र अल्पकालीनमा ७ दशमलव ५ प्रतिशत लाभकर लाग्ने गरेकोमा नयाँ दर त्योभन्दा पनि कम छ। अर्थमन्त्री वाग्लेले भदौ २९ गते सेयर बजार सुधारका लागि ल्याउनुभएको २१ बुँदे कार्ययोजनामा यो कर आधा घटाउने प्रस्ताव समेटिएको थियो। त्यसको दुई दिनपछि बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको प्रस्तावअनुसार कर घटाउने निर्णय गरेको थियो।
उक्त निर्णय भदौ ३१ गतेकै मितिमा राजपत्रमा प्रकाशित भएको छ। निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता सस्मित पोखरेलले दीर्घकालीन लगानीकर्तालाई ३ दशमलव ५ प्रतिशत कर लाग्ने बताउनुभएको थियो, तर राजपत्रमा ३ दशमलव ७५ प्रतिशत उल्लेख छ। नयाँ दर प्राकृतिक व्यक्ति अर्थात् व्यक्तिगत लगानीकर्ताले सेयर कारोबारबाट पाउने लाभमा लाग्ने अग्रिम करमा लागू हुन्छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


