जेनजी पुस्ताको कथा भन्ने ‘ल्याङ्ग ल्याङ्ग’को मुहूर्त, आजदेखि छायाङ्कन

ललितपुरको कार्यविनायक मन्दिरमा चलचित्र 'ल्याङ्ग ल्याङ्ग'को शुभ मुहूर्त सम्पन्न भएको छ। स्काइफल पिक्चर्सको ब्यानरमा बन्न लागेको यो चलचित्र बलिराम चौहानको निर्देशनमा तयार हुनेछ। निर्माण टोलीले मङ्गलबार पूजासहित मुहूर्त गरेको हो।
छायाङ्कन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ। निर्देशक चौहानका अनुसार करिब ३५ दिनको छायाङ्कन तालिका तय भएको छ। काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा पनि छायाङ्कन हुनेछ।
'हरेक युवाको कथा' स्लोगन राखिएको चलचित्रले जेनजी पुस्ताको प्रेम, सङ्घर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। चलचित्रले युवाको दैनिक जीवनका उतारचढाव पर्दामा देखाउने निर्देशकको भनाइ छ। युवा पुस्ताले साथीभाइबीचको किचकिच र एउटै विषयमा बारम्बार हुने दबाब बुझाउन प्रयोग गर्ने 'ल्याङ्ग ल्याङ्ग' शब्दलाई नै कथासँग जोडिएको उहाँले बताउनुभएको छ।
'विशेषगरी युवा पुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं', उहाँले भन्नुभएको छ। चलचित्रमा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जङ्ग बस्न्यात, गुराँस ढकाल, सुप्रिया खनाल, हिउँवाला गौतम र प्रज्वल दुलालको अभिनय रहनेछ। कथा निर्देशक चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

