भाटभटेनीको टंगाल स्टोर पुनर्निर्माणपछि सोमबारदेखि सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको काठमाडौंस्थित टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार पुनर्निर्माणको काम सम्पन्न भएपछि उक्त स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ। गत भदौ २४ गतेको आगजनीबाट स्टोरमा ठूलो भौतिक क्षति पुगेको थियो।
आन्दोलनका बेला देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेकामा टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडाका स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको र ती दुवैलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ठूलो भौतिक क्षति भए पनि कम्पनीले पुनर्निर्माणलाई निरन्तरता दिएको बताउनुभएको छ।
कठिन परिस्थितिबीच सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। आगजनीको क्षतिलाई चुनौतीका रूपमा लिएर स्टोरहरू पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


