९ असोज २०८३ English
English

राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय बैठकका लागि विश्वका नेता न्युयोर्कमा

· १ मिनेट पढाइ
राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय बैठकका लागि विश्वका नेता न्युयोर्कमा
तस्बिर: नागरिक

संयुक्त राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय राजनीतिक सम्बोधन मङ्गलबारदेखि सुरु हुने भएकाले विश्वका नेताहरू न्युयोर्क आइपुग्न थालेका छन्। राष्ट्रसङ्घका प्रवक्ताका अनुसार महासभामा करिब १३० राष्ट्रका सरकार प्रमुखहरूको सम्बोधन तय भएको छ। कार्यतालिकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार वासिङ्टन डीसीबाट न्युयोर्क आइपुग्ने कार्यक्रम छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत अन्य नेता पनि न्युयोर्कतर्फ आउँदै छन्। सरकार प्रमुखहरू प्रायः मुख्यालय नजिकका सुविधासम्पन्न होटलमा बस्ने गरेका छन्। अधिकांश होटल भरिभराउ भएका छन् र मिलेनियम हिल्टन वान युएन प्लाजा, वेस्टिन ग्रान्ड सेन्ट्रल, वाल्डोर्फ एस्टोरिया र हायत ग्रान्ड सेन्ट्रलजस्ता होटलले नयाँ बुकिङ बन्द गरेका छन्।

राष्ट्रसङ्घका लागि विभिन्न देशका कतिपय नियोगले अग्रिम बुकिङ गरिसकेका छन्। राष्ट्रसङ्घ मुख्यालय वरपर पैदल आवागमन रोकिएको छ र न्युयोर्क प्रहरीले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरेको छ। मुख्यालय आसपास धेरै अवरोधक पनि राखिएका छन्।

विशिष्ट पाहुनालाई होटल र विमानस्थलसम्म पुर्‍याउन कतिपय सडक बन्द गरिएका छन् भने कतिपयमा एकतर्फी आवागमन लागू गरिएको छ। राष्ट्रसङ्घले अक्टोबर १२ सम्म आगन्तुकका लागि मुख्यालय बन्द गरेको छ। सर्वसाधारणका लागि भूमिगत रेल सेवा भने सुचारु छ।

महासभाको समाचार सङ्कलनका लागि विभिन्न देशबाट आएका सञ्चारकर्मीले पनि काम सुरु गरिसकेका छन्।

यो समाचार भिडियोमा

राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय बैठकका लागि विश्वका नेता न्युयोर्कमा

स्रोत

सम्बन्धित समाचार