लगातारको वर्षाले बाजुराको अनन्ते मेला प्रभावित

लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडीलगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने अनन्ते मेलाको मिति सारिएको छ। शनिबारबाट विधिवत् सुरु भएर असोज ११ र १२ गते लाग्ने मेला अब असोज १५ र १६ गते लाग्नेछ। बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले मिति परिवर्तनको निर्णय गरेको हो।
बैठकले थापाकै संयोजकत्वमा सात सदस्यीय मेला व्यवस्थापन समिति पनि गठन गरेको छ। मेला अवधिभर मदिरा बिक्री वितरण र सेवन गरेर मेला बिथोल्न खोजेमा प्रचलित कानुनअनुसार कारबाही गरिने बैठकले जनाएको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानमा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना औँल्याइएको छ।
स्थानीयस्तरमा दसैँपछिको ठूलो पर्व मानिने अनन्ते मेला तीनदेखि पाँच दिनसम्म लाग्ने गर्छ। स्थानीय जानकार शेरबहादुर रावलका अनुसार महाभारतको युद्धमा कौरवमाथि पाण्डवको विजयको खुसीयालीमा यो मेला मनाइन्छ। मेलामा लाखे नाच र मागल गाउनुका साथै पाण्डवको युद्धकौशल र युद्धनीतिबारे चर्चा हुन्छ।
मेला सोह्र श्राद्ध सुरु हुने दिनबाटै सुरु हुने परम्परा छ। 'अन्यायको अन्त्य' भन्ने शब्द अपभ्रंश हुँदै 'अनन्ते' नाम रहेको किंवदन्ती छ। मेलामा भजनकीर्तन र गीत मागलमार्फत बाजुराका गाथा सुनाउने चलन छ।
आफन्तसँग भेटघाट र नयाँ मित्रता सुरु गर्ने अवसरका रूपमा पनि यो पर्व मनाइने रावलले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

