११ असोज २०८३ English
English

दशैँ–तिहारमा यातायातको मनपरी रोक्न संसदीय उपसमिति गठन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दशैँ–तिहारमा यातायातको मनपरी रोक्न संसदीय उपसमिति गठन

YouTube मा सब्स्क्राइब

दसैँ, तिहार र छठमा बढ्ने यात्रुको चाप व्यवस्थित गर्न र सार्वजनिक यातायातमा हुने मनपरी रोक्न प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले विशेष उपसमिति गठन गरेको छ। समितिको बैठकले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८५ अनुसार उपसमिति बनाउने निर्णय गरेको हो। उपसमितिका संयोजक धनेन्द्र कार्की हुनुहुन्छ भने आशा झा, पूर्ण प्रसाद लिम्बु र मञ्जु भुषाल सदस्य हुनुहुन्छ।

थप एक सदस्य नियुक्त गरिने समितिले जनाएको छ। उपसमितिले चाडपर्वमा हुने भीडभाड, बढी भाडा असुली, टिकट बिक्रीमा हुने अनियमितता र सडक सुरक्षाको अवस्था अध्ययन गरेर सुधारका उपाय सुझाउनेछ। यात्रुको चापअनुसार सवारीसाधनको उपलब्धता र रुट व्यवस्थापनको अवस्था पनि अध्ययन गरिनेछ।

यात्रुलाई सहज रूपमा गन्तव्य पुर्‍याउन आवश्यक नीतिगत र व्यावहारिक सुझाव पनि उपसमितिले दिनेछ। सडक सुरक्षातर्फ क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रणको अवस्था हेरिनेछ। लामो दूरीका सवारीमा चालक व्यवस्थापन र चालकको सुरक्षाको विषय पनि अध्ययनमा समेटिएको छ।

प्रमुख राजमार्गमा पहिरो, सडक मर्मत, निर्माणाधीन खण्ड र सम्भावित जामको स्थलगत अनुगमन गरी उपाय सुझाइनेछ। यसका लागि सम्बन्धित मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र यातायात व्यवसायीसँग छलफल गरिनेछ। उपसमितिले काम सुरु गरेको तीन महिनाभित्र प्रतिवेदन पूर्वाधार विकास समितिलाई बुझाउनुपर्नेछ।

स्रोत

सम्बन्धित समाचार